
चन्द्रविन्दु, शिरविन्दु र पञ्चम वर्ण: ङ, ञ, ण, न, म
चन्द्रविन्दु (ँ) लगाउने कि शिरविन्दु (ं) लगाउने कि आधा पञ्चम वर्ण (ङ्, ञ्, ण्, न्, म्) लेख्ने भन्ने कुरामा पनि धेरै प्रयोगकर्ताहरू झुक्किने गरेको पाइन्छ। चन्द्रविन्दु (ँ) ले नाकेध्वनिलाई बुझाउँछ भने शिरविन्दु (ं) ले पञ्चम वर्ण (ङ्, ञ्, ण्, न्, म्) लाई बुझाउँछ। शिरविन्दु छुट्टै उच्चारण हुन सक्छ भने चन्द्रविन्दु छुट्टै उच्चारण हुन सक्दैन। शिरविन्दु, चन्द्रविन्दु र पञ्चम वर्णका प्रयोगसम्बन्धी नियमहरू निम्नानुसार छन्:
चन्द्रविन्दु
तद्भव र आगन्तुक शब्दमा
चन्द्रविन्दुको प्रयोग तत्सम शब्दमा हुँदैन; तद्भव र आगन्तुक शब्दमा नाके उच्चारण हुने ठाउँमा यसको प्रयोग गर्नुपर्छ।
जस्तै: आँखा, आँसु, बाँस, घाँस, आँप, गाउँ, पाँच, आँगन, साँझ, काँध, हिउँ, उँट, कँडेल, सुँगुर, चाँदी, फाँसी, मैयाँ।
प्रथम पुरुषवाचक क्रियापदमा
प्रथम पुरुषवाचक क्रियापदमा चन्द्रविन्दुको प्रयोग हुन्छ।
जस्तै: खाएँ, गएँ, हेर्छौँ, भन्छौँ, आयौँ, गरुँला, हेरौँला, बाँचौँ, बचाऔँ, जाऊँ।
धातुसँग द/दा/दै जोडिँदा
धातुसँग द/दा/दै जोडिएको अवस्थामा पनि चन्द्रविन्दुको प्रयोग हुन्छ।
जस्तै: जाँदा, खाँदा, आउँदा, ल्याउँदै, पिउँदै, दिँदै, सिउँदै, हुँदै।
दुईओटा स्वरमा अन्त्य हुने धातुमा
दुईओटा स्वरमा अन्त्य हुने धातुमा ‘थ्’ वा ‘छ’ का रूप जोडिएकोमा पनि चन्द्रविन्दुको प्रयोग हुन्छ।
जस्तै: आउँछ, गाउँछ, देखाउँछ, खुवाउँछ, हँसाउँथे, गाउँथ्यो।
शिरविन्दु
तत्सम शब्दमा
तत्सम शब्दमा य, र, ल, व, श, ष, स, ह र ज्ञ भन्दा अगाडि आउने सम्बन्धित नासिक्य ध्वनि लेख्न शिरविन्दु प्रयोग गरिन्छ।
जस्तै: संयम, संयोग, संरचना, संरक्षण, संलग्न, संवाद, संवेदना, अंश, संशय, संसार, संसर्ग, संहार, संज्ञा, संज्ञान।
स्वरमा शिरविन्दु होइन
आजकल इ, ई, ए, ऐ, ओ, औ आदि स्वरमा व्यञ्जन वर्ण जोडिँदा शिरविन्दु दिने चलन छ, तर त्यो गलत प्रयोग हो।
गलत: ईंटा, ऐंठन, ओंठ, औंला, सांच्चै, हांस्नु, कांध, झिंगा, टुंडिखेल, पुंजी, हुंदैन।
हुनुपर्ने: ईँटा, ऐँठन, ओँठ, औँला, साँच्चै, हाँस्नु, काँध, झिँगा, टुँडिखेल, पुँजी, हुँदैन।
पञ्चम वर्ण
तत्सम शब्दमा
तत्सम शब्दमा एउटै वर्गका व्यञ्जनसँग जोडिँदा त्यसै वर्गको पञ्चम वर्ण प्रयोग हुन्छ।
क, ख, ग, घ→ ङ्
अङ्क, शङ्ख, अङ्ग, सङ्घच, छ, ज, झ→ ञ्
पञ्च, सञ्चार, लाञ्छनाट, ठ, ड, ढ→ ण्
घण्टा, कण्ठ, दण्डत, थ, द, ध→ न्
सन्त, पन्थ, मन्द, गन्धप, फ, ब, भ→ म्
कम्पन, सम्बन्ध, स्तम्भतद्भव र आगन्तुक शब्दमा अपवाद
तद्भव र आगन्तुक शब्दहरूमा तत्सम शब्दको यो नियम लागू हुँदैन।
जस्तै: कान्छी, भन्छ, चम्चा।
