
झुक्याउने अरू अक्षर र अक्षरसमूह: ए/य, ऋ/रि, क्ष/छ, ज्ञ/ग्या
ए/य, ऋ/रि, क्ष/छ र ज्ञ/ग्या जस्ता अक्षर तथा अक्षरसमूह उस्तैउस्तै सुनिने भएकाले नेपाली भाषाका धेरै प्रयोगकर्ता झुक्किन्छन्। तथापि, ध्यान दिएर उच्चारण गर्दा यिनमा स्पष्ट भिन्नता पाइन्छ। तलका नियम सम्झिएर यीमध्ये कुन अक्षर कहाँ प्रयोग गर्ने भन्ने छुट्ट्याउन सकिन्छ।
‘ए’ र ‘य’ को प्रयोग
‘ए’ को प्रयोग
भूतकालका क्रियापदमा
प्रथम पुरुष एकवचन र तृतीय पुरुष बहुवचनमा: खाएँ, गए, आए, दिए, गराएँ, हँसाएँ, गएछन्, पाएछन्।
एर, एको/एका/एकी प्रत्यय लागेका कृदन्त शब्दमा
लाएर, गएर, खाएर, लिएर, लिएको, दिएको, पाएको, आएकी।
इच्छार्थक क्रियापदमा
खाएस्, पाएस्, गएस्, लाएस्, रोएस्।
‘एक’ शब्दबाट बनेका शब्दमा
एक, एघार, एक्काइस, एकतीस, एकचालिस, एक्लो, एकाङ्की।
केही आगन्तुक शब्दमा
एक्सरे, एजेन्ट, एम्बुलेन्स, एसिड।
‘य’ को प्रयोग
सर्वनाम र सर्वनामबाट बनेका शब्दमा
यस्तो, यति, त्यति, त्यहाँ, यहाँ, यता, त्यता, यसो, यसरी, त्यसरी।
केही सामान्य भूतकालीन क्रियापदमा
आयौ, दियो, लियो, भन्यो, खायौँ, थियौँ।
केही व्युत्पन्न शब्दमा
कमैया, जहानियाँ, चिनियाँ, सहरिया, गवैया, रत्यौली, दुष्ट्याइँ, हँस्यौली, भरिया, करिया।
केही तत्सम शब्दमा
अन्यायी, अनुयायी, स्थायी, सुखदायी, दृश्य, पद्य, गद्य, जय, मूल्य, पूज्य, मनुष्य, यक्ष, वाणिज्य, दैत्य, यन्त्र, स्थायित्व, यश, गायिका, नायिका।
केही आगन्तुक शब्दमा
यकिन, सायद, पायल, डायरी, यहुदी, घायल, डायल, कायल, शायरी।
‘ऋ’ र ‘रि’ को प्रयोग
‘ऋ’ को प्रयोग
तत्सम शब्दमा मात्र
ऋषि, ऋचा, ऋण, ऋणात्मक, ऋतु, ऋग्वेद, पृथक्, बृहत्, भृकुटी, मृत, वक्तृत्व, वृद्धि, वृश्चिक, शृङ्खला, सृष्टि, समृद्धि, हृदय, मृदुल, शृङ्गार।
‘रि’ को प्रयोग
तद्भव र आगन्तुक शब्दमा
रिस, रित्तो, रिक्सा, रिबन, सिरिङ्ग, रिङटा, रिवाज, रिजाल, हरियो, कुरिलो, दरिलो, भरिया, रिमोट, सिरिन्ज।
क्ष/क्षे/क्ष्य र छ/छे/छ्यको प्रयोग
क्ष/क्षे/क्ष्यको प्रयोग
तत्सम शब्दमा मात्र
क्षण, क्षति, क्षमा, अक्षर, नक्षत्र, कक्ष, अध्यक्ष, लक्ष्य, परिप्रेक्ष्य, आरक्षण, क्षेत्र, क्षेत्रीय।
छ/छे/छ्यको प्रयोग
तत्सम, तद्भव र आगन्तुक सबै शब्दमा
छत्र, छात्र, छक्क, छक्का, छड्के, छत्तीस, छनक, छपनी, छर्रा, छेत्री, अच्छेता, छिन, छेक, छेउ, छेस्किनी, छेपारो, छेलो, छ्या, छ्याङ, छ्यापछ्याप्ती, रछ्यान, बिछ्यौना, छल, इच्छा।
ध्यान दिनुहोस्
‘छ’ र ‘छे’ तत्सम शब्दमा पनि प्रयोग हुन्छन्; ‘छ्य’ प्रयोग हुँदैन।
‘ज्ञ’ र ‘ग्य’ को प्रयोग
‘ज्ञ’ को प्रयोग
तत्सम शब्दमा मात्र
ज्ञान, ज्ञानी, ज्ञात, ज्ञाता, ज्ञापन, यज्ञ, विज्ञान, विज्ञ, प्राज्ञ, राजनीतिज्ञ, सर्वज्ञ, विशेषज्ञ।
‘ग्य’ वा ‘ग्याँ’ को प्रयोग
प्रायः नेपाली र आगन्तुक शब्दमा
ग्याँस, ग्यारेज, ग्यारेन्टी, ग्यास्ट्रिक, ग्यालेन, लाग्यो, बग्यो, माग्यो, भाग्यो, जाग्यो।