तत्सम शब्दबारे सोच्दै गरेको डाँफे

नेपाली भाषामा शब्दहरू कहाँबाट आए?

शुद्ध नेपाली लेख्न सिक्नका लागि सर्वप्रथम हामीले नेपाली भाषाका शब्दहरू कहाँबाट आएका हुन् भनेर बुझ्न जरुरी छ, किनभने शब्द कहाँबाट आयो भन्ने आधारमा नै त्यसलाई कसरी लेख्ने भन्ने नियमहरू निर्धारण हुन्छन्।

विश्वमा बोलिने सबै प्रमुख भाषाहरूमा झैँ नेपाली भाषामा पनि शब्दहरू विभिन्न स्रोतहरूबाट आएका छन्। नेपाली भाषाको सबैभन्दा ठूलो स्रोत चाहिँ संस्कृत भाषा हो किनभने यो नेपाली भाषाको माउ भाषा (जननी) हो।

तर संस्कृतबाहेक पनि नेपाली भाषाले मैथिली, गुरुङ, मगर, तामाङ, नेपाल भाषा (नेवारी) जस्ता नेपालमै बोलिने अन्य भाषाहरूदेखि लिएर अङ्ग्रेजी, अरबी, फारसी, उर्दू, पुर्तगाली भाषासम्मबाट शब्दहरू सापटी लिएको छ।

संस्कृतबाट नेपाली भाषामा आउँदा केही शब्दहरू जस्ताको तस्तै आएका छन् भने केही चाहिँ थोरै रूप फेरिएर आएका छन्। त्यसैगरी केही शब्दहरू चाहिँ नेपाली माटोमै उत्पत्ति भएका छन्। तिनलाई क्रमशः तत्सम शब्द, तद्भव शब्द र देशज (झर्रा) शब्द भनिन्छ। अन्य भाषाहरूबाट आएका शब्दहरूलाई भने स्वदेशी आगन्तुक शब्द र विदेशी आगन्तुक शब्दमा विभाजन गर्ने गरिन्छ।

उदाहरणबाट बुझौँ

तत्समतत् + सम · संस्कृतकै समान

संस्कृतबाट जस्ताको तस्तै: ऋतु, षड्यन्त्र, संसार, शक्ति, द्वितीय, ज्येष्ठ, पञ्च, ज्ञानी, त्रिभुवन, क्षमा, शार्दूल

तद्भवतत् + भव · संस्कृतबाट विकसित

संस्कृतबाट रूप फेरिएर: श्वास → सास, क्षेत्र → खेत, भूमि → भुइँ, नायक → नाइके, रक्त → रगत, अग्नि → आगो, मानुष → मानिस

देशज (झर्रा)

नेपाली माटोमा उत्पत्ति भएका: जुरुक्क, झमक्क, धरधरी, आत्था

स्वदेशी आगन्तुक

गुरुङ भाषा:
खुर्पा, घुम, राडी
मगर भाषा:
पटुका
तामाङ भाषा:
डम्फु, सेलो
नेपाल भाषा:
पसल, कौसी, झ्याल

विदेशी आगन्तुक

अङ्ग्रेजी:
कार्गो, कलेज, टिकट
पोर्तुगाली:
गमला, चाबी, तमाखु
फारसी:
खर्च, कारोबार, बहाल
अरबी:
अदालत, फौज, हाकिम

तत्सम शब्द कसरी चिन्ने?

तत्सम शब्द चिन्न सहयोग गर्ने केही वर्ण, मात्रा र चिह्नहरू छन्। तलका विशेषताहरू भएका शब्दहरू प्रायः तत्सम हुन्छन्:

ऋ वा ृ

ऋषि, ऋतु, कृपा, घृत, मातृ, ऋण

तालव्य ‘श’ र मूर्धन्य ‘ष’

शान्ति, शङ्का, वर्ष, भाषा, पुरुष, शेष

क्ष, त्र र ज्ञ

पक्ष, क्षेत्र, नक्षत्र, पत्र, मित्र, ज्ञान, आज्ञा

विशेष वर्गीय पञ्चम वर्ण—ङ, ञ र ण

आकाङ्क्षा, आतङ्क, पञ्च, वाञ्छनीय, सञ्जय, खण्ड, घण्टा, दण्ड

विसर्ग (ः)

क्रमशः, अक्षरशः, प्रथमतः, मूलतः, प्रायः, दुःख, निःशुल्क

यी संकेतहरूले धेरै तत्सम शब्द चिन्न सजिलो बनाउँछन्। तर यसबाहेक पनि अन्य थुप्रै तत्सम शब्दहरू हुन्छन्, जसलाई चिन्नका लागि शब्दकोशकै सहायता लिनुपर्ने हुन्छ।